राष्ट्रियसभा निर्वाचन : आज उम्मेद्वारको नामावली प्रकाशन गरिने
राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका अन्तर्गत आज उम्मेद्वारको नामावली प्रकाशन हुँदैछ । उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिनपछि आयोगले आज अपरान्ह नामावली प्रकाशन गर्ने जनाएको छ ।
सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी आज नामावली प्रकाशन गर्न लागिएको हो ।
उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपाङ्गता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।
निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले भोलि नाम फिर्ता गर्न सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यसूची छ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुने छ ।
Comments