राष्ट्रियसभा निर्वाचन: आज र भोलि दाबीविरोध र उजुरीमाथि छानबिन
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने कार्यतालिका छ । मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो ।
मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गरिने छ ।
यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिश्वकर्माविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको दाबी गरेका छन् । कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध भने एमालेकै उम्मेद्वार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।
उजुरीविरुद्ध आज र भोलि जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र त्यसपछि भने उमेदवारको अन्तिम नामावली प्रकाशित हुने छ ।
Comments