हुस्सु र कुहिरोले तराईको जनजीवन कष्टकर

चिसो बढेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । हुस्सु र कुहिरोसँगै शीत लहर चलेपछि तराईको जनजीवन थप कष्टकर बनेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण पछिल्लो समय घाम देखिन छाडेको छ ।

चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

तराई मधेशका भूभागमा आज बिहानीपख हुस्सु र कुहिरो लागे पनि दिउँसोदेखि क्रमिक सुधार हुँदै जान सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई मधेशमा बढेको चिसोले स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हुस्सु कुहिरोले सडक ढाकेपछि सवारी दुर्घटना बढ्न थालेको छ ।

Comments

Back to top