बरहथवा घटना : पीडित परिवार र प्रशासनबीच सहमति

 प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवाको स्तरोन्नतिको विवादमा भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको ज्यान गएको घटनामा तीन दिनपछि पीडित परिवार र प्रशासनबीच सहमति भएको छ । सहमतिसँगै घटनास्थलबाट शव उठ्ने भएको हो ।

शुक्रबार दिउँसो बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएको तेस्रो दिनसम्म समेत साहको शव घटनास्थलमै रहेपछि जिल्ला प्रशासन कार्यालयले सहमतिको प्रयास गरेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा पीडित पक्ष, आन्दोलनकारी र सरोकारवालाहरूको बीचमा सहमति भएको छ । पीडित परिवार र स्थानियले १० बुँदे माग गरेर आन्दोलन गरिरहेका थिए ।

गोली चलाउने र आदेश दिनेलाई निलम्बन गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, मृतकको परिवारका एक सदस्यलाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने सहमति भएको हो ।
माग पुरा भएपछि  शव उठाउने सहमति भएको छ । गृह मन्त्रालयले शनिबार मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति गठन गरे पनि अहिले आन्दोलन रोकिएको थिएन ।

यता, आन्दोलनको क्रममा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्लामा तानिएका छन् । इलाका प्रहरी कार्यालय, बरहथवामा कार्यरत यादवलाई जिल्लामा तानेर घटनाको छानविन गरिरहेको सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिए ।

Comments

Back to top