एकीकृत समाजवादीको बैठक बस्दै, राष्ट्रियसभा सदस्य उम्मेदवार छान्ने
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा निर्वाचनको सदस्य उम्मेदवार छान्नेलगायतका एजेन्डासहित बैठक पार्टी मुख्यालय आलोकनगरमा बस्न लागेको हो ।
विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई कार्यविधिका आधारमा उम्मेदवार छनौट गरिने उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।
Comments