दिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कतिपयले केजरीवालको निवासमा छापा मारेर उनलाई नियन्त्रणमा लिने प्रयासका रुपमा अर्थाएका छन् ।

भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई बारम्बार बोलाउदा पनि उनी अनुपस्थित भएपछि उनलाई पक्राउ गर्ने तयारी गरिएको हुन सक्ने आँकलन गरिएको छ ।

केजरीवालको घर जाने बाटोहरु दिल्ली प्रहरीले अबरोध पारेका छन् । दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेतासमेत रहेका केजरीवाललाई प्रहरी लगाएर बयानका लागि उपस्थित गराउन खोजिएको हुन सक्ने अनुमानकाबीच पछिल्लो घटनाक्रम विकसित भएको हो ।

दिल्ली सरकारका मन्त्री आतिशी र सौरभ भारद्वाजले राति अबेर गरेको ट्वीटमा प्रवर्तन निर्देशनालय (इडी)ले केजरीवालको घरमा छापा मार्न सक्ने उल्लेख थियो । केजरीवालले इडीको तेस्रो समनलाई पनि बेवास्ता गरेपछि उनीहरुले यस्तो आशंका प्रकट गरेका थिए ।

मदिरा घोटाला प्रकरणमा छानबिनका लागि इडीले यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा समन जारी गरेको थियो । तेस्रो समनमा उनलाई गत बुधबार पेस हुन भनिएको थियो ।
तर मुख्यमन्त्री केजरीवाल इडीमा उपस्थित भएनन् । बरु उनले पत्रमार्फत इडीलाई लिखित प्रश्न पठाउन भनेका थिए ।

Comments

Back to top