इरानको आतंकवादी हमलामा कम्तीमा १०३ जनाको मृत्यु, १४१ घाइते
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई ओटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा १०३ जनाको ज्यान गएको छ । सरकारी मिडियालाई उधृत गर्दै बीबीसीले १०३ जनाको मृत्यु भएको र १४१ जना घाइते भएको जनाएको छ ।
सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो ।
लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् । सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो ।
उक्त मस्जिदमा उनलाई गाडिएको छ । बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए ।
Comments