अष्ट्रेलियामा आँधीः १ जनाको मृत्यु १ लाख २० हजार घर बिजुलीविहीन

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।

साथै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय अखबार द कुरियर–मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा रुख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो ।

गोल्ड कोस्ट, सिनिक रिम र लोगानमा आँधीको प्रभावले लगभग एक लाख २७ हजार घरहरू बिजुलीविहीन भएको अखबारले उल्लेख गरेको छ ।

स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका आठ सय ७५ वटा बिजुली लाइनहरू मर्मत कार्य भईरहेको बताएका छन् । क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने बताइएको छ।

मङ्गलबार दिउँसो अर्को आँधीबेहरी आउन सक्ने चेतावनी जारी गरिएको छ । उपनगरहरूले असिना पर्न सक्ने भन्दै दक्षिण पूर्व क्वीन्सल्याण्ड क्षेत्र प्रतिकूल मौसमबाट पीडित हुने सक्ने सूचना जारी गरेको छ ।

प्रतिकूल मौसमका कारण यस वर्षको क्रिसमसको अवधिमा पूर्वी अस्ट्रेलियामा विनाशकारी आँधी आउने सम्भावना रहेको अस्ट्रेलियाको एबीसी न्युज प्रसारकले जनाएको छ ।

Comments

Back to top