ईसाई धर्मावलम्बीले क्रिसमस पर्व मनाउँदै
ईसाई धर्मावलम्बीले आज धुमधामका साथ क्रिसमस पर्व मनाउदै छन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसरमा यो पर्व मनाउने गरिन्छ । क्रिसमस ईसाईहरुको सबैभन्दा ठूलो पर्व हो ।
यस पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाउने गरिन्छ । नेपालमा पछिल्लो समय ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउने गरेका छन्।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले जारी गरेको सन्देशमा विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख छ ।
Comments