राष्ट्रसंघका १३६ जना कर्मचारी गाजामा मारिए

इजरेल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । 

साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले बताएका छन् ।

गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका छन् । 

"गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् - जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं। हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ," महासचिव गुटरेसले ट्विटरमा लेखेका छन् ।"म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु" उनले लेखेका छन् । 

गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरेलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरेल-हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ। 

त्यस आक्रमणपछि इजरेलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ ।

Comments

Back to top