जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
जब सेन्टरका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । प्रंहरीका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।
यसैगरी, काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्। उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भन्ने प्रचार गरि मानिसलाई आकर्षित गर्दै आएका थिए ।
जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए। सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको प्रहरीको भनाई छ ।
Comments