अन्तरबैंक एटिएम प्रयोग बढ्दो, दुई वर्षमा झिकियो ४० करोड

नेपालमा पछिल्लो समय एटिएम प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बैंक वित्तहरुहरु डिजिटलाइजेशनको अवधारणा गएसँगै अहिले टोलैपिच्छे बैंकहरुका एटिएम बुथहरु स्थापना हुन थालेका छन् । जसले सेवाग्राहीलाई सहज बनाएको छ । आज घर नजिकै रहेको एटिएमबाट सहज रुपमा सेवाग्राहीले रकम निकाल्न पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ७८ पुससम्म आइपुग्दा एटिएम प्रयोगकर्ताको संख्या १३ करोड ५५ लाख पुगेको छ ।

नेपालमा २१ महिनाको अवधिमा करिब चार करोड ६ लाखपटक अन्तरबैंक एटिएम कारोबार भएको पाइएको छ । यसरी अन्तरबैंकको एटिएम प्रयोगका क्रममा सेवाग्राहीले महिनामा दुईपटक शुल्क तिर्नुपर्दैन । त्यसपछि प्रत्येकपटक २० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यसरी अन्तरबैंक एटिएमबाट ग्राहकले पैसा निकाल्दा पछिल्लो २१ महिनाको अवधिमा नेपालबाट करिब ४० करोड रुपैयाँ बाहिरिएको छ । फरक बैंकको एटिएम प्रयोग गर्दा प्रत्येक कारोबारबापत १० रुपैयाँ कार्ड निर्माता कम्पनीले पाउँछन् । बैंकका एटिएम प्रयोगकर्ताहरूले २१ महिनामा १३ करोड ५५ लाखपटक एटिएम मेसिनबाट रकम निकालेका छन् । यसमध्ये करिब ३० प्रतिशत एक बैंकको एटिएम अर्को बैंकको मेसिन (अफअस)मा प्रयोग हुने गरेको पाइएको छ ।

राष्ट्र बैंकका अनुसार कार्ड जारी गर्ने संस्था एउटै भए पनि एटिएम मेसिन फरक छ भने त्यस्तो कारोबारलाई अफअस भन्ने गरिन्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभागका प्रमुख गुरुप्रसाद पौडेल भन्छन्, “कुनै दुईवटै बैंकको कार्ड भिसा हो भने पनि एक–अर्काको एटिएममा कसैले प्रयोग गर्छ भने त्यो अफअस कारोबार हुन्छ ।”

राष्ट्र बैंककै प्रक्षेपणले २१ महिनामा करिब चार करोड ६ लाखपटक अफअस कारोबार भएको देखाएको छ । यसरी हुने अफअस कारोबारमा प्रतिकारोबार १० रुपैयाँ कार्ड जारी गर्ने कम्पनीलाई जाने गर्छ । यसरी सो अवधिमा करिब ४० करोड ६५ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।
कोभिड-१९ का कारण एउटै एटिएम वा बैंकमा भिड हुनबाट रोक्न भन्दै राष्ट्र बैंकले यस्तो नियम ल्याएको हो ।

सोही कारण नेपालीहरूको बानीमा परिवर्तन आएको र अन्तरएटिएमको प्रयोगमा वृद्धि भइरहेको अनुमान राष्ट्र बैंकको छ । कार्ड निर्माता कम्पनीहरूलाई विदेशी मुद्रामा नै भुक्तानी हुन्छ ।

केही वर्षअघिसम्म भने अन्तरबैंक एटिएमको प्रयोगमा बैंकहरूले दुई सय रुपैयाँसम्म लिने गर्थे । पछिल्लो समय सहरका गल्ली–गल्लीमा बैंकहरूले एटिएम जडान गरेकाले अन्तरएटिएम प्रयोगलाई निरुत्साहन गर्न शुल्क केही महँगो बनाउनुपर्ने धारणा पनि बैंकरहरूको छ ।

Comments

Back to top