सर्वाेत्तम सिमेन्टको शेयर आज बाँडफाँड हुँदै

पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गरेको शेयर आज बाँडफाँड हुँदैछ । गोप्य शिलबन्दीद्वारा प्राप्त आवेदन आज बिहान ८ बजे खोलिने भएको हो ।

कम्पनीले प्राप्त आवेदनबाट निष्कासित सबै शेयर बिक्री हुने गरी कट अफ मूल्य निर्धारण गर्नेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिनेछ । सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो लगानीकर्तालाई शेयर बाँडफाँड नगरिने कम्पनीले जनाएको छ ।

कम्पनीले मंसिर ६ गतेदेखि १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता शेयरका लागि शुरुमा तोकिएको बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँलाई परिमार्जन गरी ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको थियो ।

Comments

Back to top