होम लोन र अटो लोनमा ब्याजदरको अवस्था कस्तो छ ?

बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको हो । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो ।

यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा थोरै बढी हुने गरेकोमा अहिले करिब ७ प्रतिशतको हाराहारीमा पुगेको छ । माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर बढेर २ सातामा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो असार मसान्तमा ९० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गरेको छ ।
तर अहिले कतिपय बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतको हाराहारीमा रहेको छ । समग्र प्रणालीमा सीडी रेसियो १६ गतेसम्म ९०.३६ प्रतिशत छ ।

राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकाले बैंकलाई आवश्यक पर्ने रकम अन्तरबैंकबाट तत्काल पैसा लिएको कारण अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत पुगेको देखिएको छ । राष्ट्र बैंकका अनुसार १६ गतेसम्म वाणिज्य बैंकमा ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यता बैंकमा ब्याजदर बढेपनि कर्जाको माग भने घट्न सकेको छैन । निक्षेप अभावका कारण बैंकहरुलाई कर्जा दिन भने निकै हम्मेहम्मे परेको अवस्था छ ।

बैंकहरुले कर्जा दिँदा समयमा नै कर्जा उठ्ने, कर्जा नफस्ने, राम्रो धितो भएको ठाँउमा बैंकहरुले कर्जा दिने गरेका छन् । त्यही अनुसार बैंकहरुले कर्जा प्रदान गर्ने गरेका छन् । सबै प्रकृतिका व्यवसायमा कर्जाको माग बढेसँगै घर कर्जाका साथै गाडि कर्जाको माग पनि स्वाभाविक रुपमा बढ्ने नै भयो ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा अन्य प्रकृतिका कर्जासँगै घर कर्जाको ब्याजदर पनि बढेको छ । घर कर्जा र गाडि कर्जाका लागि बैंकहरुले निश्चित अवधि तोकेर लिने कर्जा र अन्य अवधिको कर्जाको लागि फरक–फरक ब्याजदर तोक्दै आएका छन् ।

सरकारी स्वामित्वको कृषि विकास बैंकको आधार दर ७.७८ प्रतिशत छ । बैंकले ५ र १० वर्षे अवधिको घर निर्माण प्रयोजनका लागि घर कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १० वर्षे अवधिको कर्जाका लागि आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ । साथै, १५ वर्षे अवधिको घर कर्जामा भने आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ ।

साथै, कृषि विकास बैंकलवे घर खरिद प्रयोजनार्थ ५ र १० वर्षे अवधिको कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १५ वर्षे अवधिको घर कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । त्यसैगरी बैंकले जग्गा किन्नका लागि आधारदरमा ३ प्रतिशत प्रिमियर थपिने छ । यस्तै कृषि विकास बैंकबाट बिजनेश कम्प्लेक्स र हाउजिङको लागि ऋण लिँदा आधारदरमा ३ प्रतिशत प्रिमियम थप्नुपर्ने छ ।

यस्तै बैंकले अटो लोनमा आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ । यस्तै सेञ्चुरी कमर्सियल बैंकको माघ मसान्तसम्मको आधारदर ८.८६ प्रतिशत छ । बैंकले १० वर्षे अवधिको घर कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत, १५ वर्षे अवधिको कर्जामा अधिकतम ४.५० प्रतिशत र २० वर्षे अवधिको कर्जामा अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । त्यसैगरी स्थिर ब्याजदर अन्तर्गत १० वर्षे अवधिका लागि ११.९९ प्रतिशत, १५ वर्षे अवधिका लागि १२.४९ प्रतिशत र २० वर्षे अवधिको कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै बैंकले सवारी साधन ऋण(व्यक्तिगत प्रयोग) का लागि पाँच वर्षको लागि आधार दरमा ४ प्रतिशत देखि अधिकतम ११ दशमलव ९९ प्रतिशत तोकेको छ । यस्तै ७ वर्षसम्म आधार दरमा अधिकतम ७ दशमलव ५० देखि १२ दशमलव २४ सम्म ब्याजदर तोकेको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेशनलको माघ मसान्तसम्मको आधारदर ९.२९ प्रतिशत छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम ०.२५ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । बैंकले स्थिर ब्याजदर अन्तर्गत ५ वर्षे अवधिको १०.५० प्रतिशत, ६ देखि १० वर्र्षे अवधिको ११ प्रतिशत, ११ देखि १५ वर्षे अवधिको ११.५० प्रतिशत र १६ वर्षे वा सो भन्दा बढी अवधिको १२ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अटो लोनमा ० दशमलव २५ प्रतिशत देखि ५ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

अरु बैंकहरुको पनि अवस्था उस्तै-उस्तै देखिएको छ ।

Comments

Back to top