इजरायलमा रहेका नेपाली विद्यार्थीले उद्धार लागि अपिल गर्दै लेखे प्रधानमन्त्रीलाई पत्र
यतिबेला इजरायलमा युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले जति सक्दो छिटो उद्धारको अपिल गरिरहेका छन् ।
केहीले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेर उद्धारको अपिल गरेका छन् भने केहीले भिडियोसमेत बनाएर चाँडो भन्दा चाँडो उद्धारका लागि आग्रह गरिरहेका छन् ।
उनिहरु इजरायलका बिभिन्न बंकरहरुमा बसिरहेका भएपनि सुरक्षित ठानिरहेका छैनन् । अहिले इजरायलको बंकरमा बसिरहेका कास्कीका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका छन् ।
उत्र पत्र उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा राखेका छन् ।
श्रीमान् प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थी ९११४० जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौँ ।
११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौँ । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।
आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्रो छाति चिरिएको छ । हामी स्तब्ध छौँ । हमलामा परियो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामी खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ ।
आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो । भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौँ ।
हामी नेपालको तीन वटा विश्वविद्यालयबाट यहाँ छौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय
सगै यहाँ अन्य विद्यार्थी र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाईंले अवश्य गराउनुहुनेछ, यो हाम्रो तपाईंप्रतिको विश्वास हो । यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)
– Kadesh Barnea, Israel
(नेपाली ठेगाना)
अन्नपूर्ण गाउँपालिका- २
कास्की)
इजरायलमा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।
Comments