प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (बिहीबार) उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाँदैछिन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणाको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मंसिर १५ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा उनीहरूले प्रधानमन्त्री ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण यही मंसिर १७ गतेदेखि हुने भनिए पनि दुबै देशले औपचारिक रुपमा घोषणा गरेका भने छैनन् ।
एजेन्सी
Comments