अफगानिस्तानमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । इरानको सिमा क्षेत्रमा केन्द्रबिन्दु रहेको ६.३ म्याग्निच्यूटको भूकम्पले हेरात प्रान्तमा ठूलो क्षति गरेको छ।
बीबीसीका अनुसार भूकम्पमा परेर हजारौं अफगानी घाइते भएका छन् । हेरात क्षेत्रका १२ वटा गाउँ पुरै ध्वस्त भएको त्यहाँ सत्ता चलाइरहेको तालिवानले जनाएको छ ।
समाचार एजेन्सी एपीले तालिवान सरकारका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार मृतकको संख्या २ हजार नाघेको छ भने यो अझै बढ्न सक्नेछ । भग्नावशेषमा पुरिएका शव निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या अनुमान गरिए भन्दा निकै बढि हुन सक्ने बताइएको छ ।
त्यहाँ परकम्प जाने क्रम पनि जारी नै छ । मुख्य भूकम्पले चर्काएका घरहरु परकम्पले भत्काएको छ । सडक र अन्य पूर्वाधार पनि भत्किएका छन् ।
Comments