जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ
जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ)ले शुक्रबार जानकारी गराएको छ ।
नयाँ प्रतिवेदनमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२१ को बीचमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण घरबाट विस्थापित बालबालिकाको सङ्ख्याको पहिलो विश्वव्यापी विश्लेषण ‘चिल्ड्रेन डिसप्लेस्ड इन अ चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हो ।
अध्ययनले ४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित हुने गरेको देखाएको छ । जोखिमको सन्दर्भमा, फिलिपिन्स आँधीबेहरीको लागि पहिलो स्थानमा छ र विस्थापित बच्चाहरूको पूर्ण सङ्ख्यामा बाढीको लागि तेस्रो स्थानमा छ । द्वीपसमूहले बनेको यस राष्ट्रमा वर्षेनी औसत २० वटा आँधीबेहरी आउने गरेका छन् ।
फिलिपिन्समा आगामी ३० वर्षमा आँधीबेहरीका कारण थप करिब २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ । यो जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ । यसले घना जनसङ्ख्या भएका सहरहरू जस्तै मेट्रो मनिला,सेबु प्रान्त (मध्य फिलिपिन्स) र दक्षिणी फिलिपिन्सको दाभाओलाई पनि असर गर्न सक्छ।
Comments