हिजाब नलगाएको भन्दै प्रहरीले कुटपिट गरेपछि किशोरी कोमामा
इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ ।
तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् ।
कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएकाे छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको बिबाद भएको थियो। सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।
तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाइ उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ ।
अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हाे । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हाे ।
Comments