कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु भएको छ ।

मुख्यमन्त्री कार्कीले असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकका दलले विश्वासको मत दिने निर्णय लिएका छैनन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपा पनि यसपटक मत नदिने बताएको छ ।

९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । तर, एमालेलाई अन्य दलले समर्थन नगरेको र एमालेसाँ मात्रै ४० मत रहेकाले विश्वासको मत पाउने सम्भावना अति नै न्युन छ ।

Comments

Back to top