जिम्बावेमा विमान दुर्घटना, भारतीय उद्योगपतिसहित ६ जनाको मृत्यु
जिम्बावेमा भएको विमान दुर्घटनामा भारतीय अर्बपति उद्योगपति र उनका छोरासहित ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेको विमान एक भारतीय उद्योगपतिको कम्पनीको निजी विमान थियो । जुन जिम्बाब्वेको दक्षिण-पश्चिम क्षेत्रमा रहेको हिरा खानी नजिकै दुर्घटनामा परेको थियो।
राजधानी हरारेबाट मुरोवा हिरा खानीतर्फ जाँदै गरेको विमान मशावा क्षेत्रमा दुर्घटनामा परेको थियो । जसमा विमानमा सवार सबै ६ जनाको मृत्यु भएको हो ।
सञ्चारमाध्यमका अनुसार प्राविधिक गडबडीका कारण विमान हावामै विस्फोट भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका अर्बपति हरपाल सिंह रन्धावा जिम्बाब्वेमा सुन, कोइला खानी गर्ने र निकल र तामा जस्ता धातुहरू रिफाइन गर्ने काम गर्ने रियोजिम नामक खानी कम्पनीका मालिक थिए । विमान दुर्घटनामा ज्यान गुमाउनेमा हरपाल सिंह रन्धावा, उनका छोरा र चार जना रहेका छन् ।
रन्धावाका साथी तथा फिल्म निर्माता होपवेल चिनोनोले हरपाल सिंह रन्धावाको मृत्यु भएको पुष्टि गरेका छन् । कम्पनीले पनि विज्ञप्ति जारी गर्दै रन्धावाको मृत्यु भएको पुष्टि गरेको छ । रन्धावा चार अर्ब डलरको इक्विटी फर्म जेम होल्डिङका संस्थापक हुन् ।
Comments