पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुशपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको निष्कर्ष निकालेको छ ।

जलहरी प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्यसचिव डा. मिलन थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ । पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो । कुल १ किलो ५ सय ६५ ग्राम सुनको परिमाण फरक परेकोमा राष्ट्र बैंकको मापदण्डअनुसार ०.०७२ प्रतिशतले हुन आउने जर्ती कटाएर बाँकी सुन हिनामिना गरेको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

माइन्युट सच्याएर बाँकी सुनको रिङ लगाएको भनी उल्लेख गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

Comments

Back to top