सुन तस्करी छानबिन गर्न ४ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय
सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको हो ।
टीममा पूर्वन्यायाधीश आचार्यसहित अर्थमन्त्रालयका केशरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र एकजना पूर्वएआईजी रहेका छन् ।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन् ।
Comments