प्रधानमन्त्रीको चीन भ्रमणः पोखरामा सीधा उडान र नाका खोल्ने सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
चीन भ्रमणबाट स्वेदश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा विगतका सहमति कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको समेत जनाए ।
प्रधानमन्त्री प्रचण्डले आफ्ना दुवै भ्रमण अत्यन्तै सफल भएको भन्दै भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजान दुवै पक्षले गर्नुपर्ने कामबारे गहन छलफल भएको पनि बताए ।
चीनले गरिबी निवारण र आर्थिक विकासमा हासिल गरेको समृद्धिबाट फाइदा लिन नेपालले गर्नुपर्ने पहलबारे आफूले कुरा राखेको उनले बताए । यसमा चिनियाँ राष्ट्रपति सीको समर्थन रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले चीनका विभिन्न शहरबाट पोखरामा सिधै उडान गर्ने समझदारी महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
चिनियाँ प्रधानमन्त्री लि छियाङसँगको वार्तामा सहकार्यका विविध विषयमा छलफल भएको भन्दै उनले उत्तरी दुर्गम गाउँमा प्रसारणलाइन विस्तार र सौर्य प्रणाली जडान तथा कोभिड १९ को महामारी अगाडि सञ्चालनमा रहेका सबै सीमा नाका सञ्चालन गर्ने सहमति भएको समेत जनाए ।
Comments