निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई भारतको चुनौती

भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यस सम्बन्धमा क्यानडासँग जानकारी मागेको छ । साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशङ्करले मंगलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए।

हालै क्यानडाले निज्जर हत्यामा भारतको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानाडको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए। उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए।

Comments

Back to top