रुसको भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किएका छन् । उनी आफ्नो बख्तरबन्द रेल चढेर हिजो बेलुका रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीले जनाएका छन्।

गएको मङ्गलवारदेखि शुरु भएको भ्रमण मुख्य गरी सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदानले यसलाई थप प्रमाणित गर्ने आधार तय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । मुख्य गरी मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको र प्योङयाङले आफ्नो क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रूसको सहयोग चाहेको विश्लेषण छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले अधिकारीहरूलाई उद्धृत गर्दै किमको भ्रमणको माहोललाई ‘उत्कृष्ट र न्यानो’ भन्दै उत्तर कोरिया र रूसबीच ‘मित्रता, ऐक्यबद्धता र सहयोगको नयाँ युग’ शुरु हुन लागेको जनाएको छ । किम कोरोना महामारीपछिको पहिलो विदेश भ्रमणका क्रममा रुस पुगेका थिए । 

Comments

Back to top