मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।
ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।
भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।
Comments