सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।
शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो ।
दुई पक्षबीच ढुङ्गा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।
शनिबार दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ ।
Comments