मालीमा इस्लामवादी विद्रोहीहरूको रकेट आक्रमण, कम्तिमा एक सय जनाको मृत्यु

पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ।

ग्रेनिच मीन टाइम (जीएमटी) सँग ठ्याक्कै मिल्ने स्थानीय समयानुसार बिहीवार बिहान ११ बजे ूसशस्त्र आतङ्ककारी समूहूले डुङ्गामा आक्रमण गरेको मालीको सेनाले सामाजिक सञ्जालमा लेखेको छ। कम्तीमा तीनवटा रकेटले डुङ्गाको इन्जिनलाई लक्ष्य बनाएर आक्रमण गरेको डुङ्गा सञ्चालक कम्पनी कमन्याभले एएफपी समाचारसंस्थालाई बताएको छ।

उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन्। आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ। घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।

रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ। मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेका छन्। गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ। त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ।

 

Comments

Back to top