चीन र रुसको प्राथमिकतामा परेन जी–२० सम्मेलन, जी–२० राष्ट्र चिन्तित

सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपति उपस्थित नहुने भएका छन् ।

युक्रेनसँगको युद्धमा फसेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुनेछैनन् । पुटिनलाई युद्ध अपराधको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको छ ।

सोही कारण, पुटिन ब्रिक्स शिखर सम्मेलनमा समेत दक्षिण अफ्रिका पुगेका थिएनन् । तर, चीनका राष्ट्रपति सी जिन पिङ समेत जी–२० मा उपस्थित नहुने भएपछि भारतीय उच्च अधिकारीसहित जी–२० राष्ट्र चिन्तित बनेका छन् । उनीहरुले चीन जी–२० लाई प्रभावहीन बनाउन लागि परेको समेत बताउन थालेका छन् ।

जी २० विश्वका २० ठुला अर्थतन्त्र भएका मुलुकहरूको समूह हो । हाल यो समूहको अध्यक्षता गरिरहेको भारत वर्षको सुरुदेखि नै सम्मेलन सफल बनाउन लागि परेको थियो । यसको बाबजुद यो वर्ष भारतमा आयोजित जी २० को कुनै पनि सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न सकेन ।

भारतले यसको दोष सी र रुसलाई दिइरहेको छ । अर्थात चीन र रुसका कारण नै भारतमा आयोजित अघिल्ला जी २० सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न नसकेको बताइन्छ । र, यही सेप्टेम्बरमा हुने सम्मेलनमार्फत समेत साझा वक्तव्य जारी गर्न नसक्ने स्थिति देखिएको छ । चीन र रुसका राष्ट्रप्रमुखको उपस्थिति बिना संयुक्त वक्तव्य जारी गर्न सम्भव छैन।

जसको चिन्ता भारतले मात्र नभई अमेरिकाले समेत जनाइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बिले बुधबार जी २० सम्मेलनमा संयुुक्त वक्तव्य जारी गर्ने सम्भावना न्यून रहेको बताए। किर्बिले भने, ‘हामी आसा गर्छौँ कि संयुक्त वक्तव्य जारी होस । तर, हामी सबैलाई थाहा छ संयुक्त वक्तव्य जारी गर्न मुस्किल छ ।’

 

Comments

Back to top