पोखरामा १० हजार किलोलिटर डिजल भण्डारण क्षमताका दुईवटा गृहको उद्घाटन

पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालद्वारा उद्घाटन गरिएको छ।

निगमका प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करिब चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ।

हाल एक दिनमा यस प्रदेशमा तीन लाख २० हजार लिटर डिजल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ। यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ।

प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करिब सात दिन र पेट्रोलको माग करिब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ।

थानीका अनुसार उद्घाटन भएका नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्याङ्कको पेट्रोल ट्याङ्क भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने भएको छ।

Comments

Back to top