धान खेत मासेर ड्रागन फ्रुट खेती

मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ३ विघा जमिनबाट वार्षिक ३० लाख रुपियाँ कमाउने कृषि उद्यममा लागेका छन् । प्रति विघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उनले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका हुन् । सुरुमा परीक्षणको रुपमा १०-१५ वटा विरुवा लगाएर खेती सुरु गर्नुभएका गणेशले ती विरुवाले सोचे भन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गरेका हुन् ।

खोलाको किनारमा रहेको तुर्छाको ३ विघा खेतमा अहिले १३ हजार विरुवाले उत्पादन दिन लागेका छन् । गत वर्ष वैशाखमा विरुवा लगाउनु भएका तुर्छा राईले भने, “भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ । जेठदेखि उत्पादन दिनथाल्छ ।”

राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गरेका हुन् । उनले भने, “१ करोड ५० लाख रुपियाँ लगानी भइसकेको छ ।” उनले ३ सय रुपियाँका दरले विरुवा खरिद गरेका हुन् । विरुवामा मात्र ३९ लाख रुपियाँ खर्च भएको छ । रोपाई खर्च, मल, घेरावार, सिंचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताए ।

पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाउनु भएका ४५ वर्षीय राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यता तिर आकर्षित भएका हुन्।

धान, मकै, गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो । समयमा मल उपलब्ध नहुँदा हरेक वर्ष किसान पीडामा हुन्छन् । “रसायनिक मल र विषादी विना सोचे जस्तो उत्पादन लिन सकिन्न । त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उनले भने, “नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपियाँमा बिक्री भइरहेको छ ।”

राईले रातो जातको बिरुवा लगाउनु भएको छ । राईका अनुसार सेतो भन्दा रातो प्रतिकिलो सय रुपियाँ बढीमा बिक्री हुनेगर्छ । औषत प्रति चार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उनको भनाइ छ । २० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो प्राप्त हुने अपेक्षासहित धान खेत मासेर ड्रागन लगाउनु भएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ ।

उनले भने, “ठूलो लगानी फसिसकेको छ । बिक्री भएन भने फ्रुटलाई प्रशोधन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छु ।”

स्रोत: गोरखापत्र

Comments

Back to top