आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर!!

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यसबारे व्यापारी र किसानका भिन्नभिन्न धारणा आएका हुन् ।

आलु–प्याजमा भ्याट लगाएर उपभोक्ताको चुलो महँगो बनाएको भन्दै संसद्मा समेत विरोध भएको छ । सरकारले अहिलेसम्म आलु, प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर लिँदै आएको छ । अब यसमा १३ प्रतिशत भ्याट थपिएको छ । अर्थमन्त्री महतले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न आयातित वस्तुमा मात्र भ्याट लगाएको पटक–पटक बताइसकेका छन् । तर, पनि विरोध रोकिएको छैन ।

यही जेठ १५ मा बजेट सार्वजनिक भएपछि तरकारी आयातमा संलग्न व्यवसायीहरुले भ्याट लगाइएकोमा विरोध गर्दै आएका छन् । अहिले अधिकांश व्यापारीले भारतबाट आलु र प्याज आयात पनि रोकेका छन् । उनीहरुले आफूहरु प्यानमा दर्ता भएर कारोबार गरिरहेको र भ्याट लगाउँदा बिलबिजक जारी गर्न समस्या हुने, स–साना व्यापारीबाट भ्याट फिर्ता ल्याउन पनि समस्या हुने बताउँदै आएका छन् । अर्थमन्त्री महतको समेत विरोध भइरहेको छ ।

अर्कोतिर किसानका प्रतिनिधि संस्थाहरुले भने आलु, प्याजलगायत वस्तुको आयातमा लगाएको भ्याटको स्वागत गरेका छन् । बिहीबारमात्र किसानहरुको एउटा समूहले अर्थमन्त्री महतलाई भेटी तरकारीको आयातमा भ्याट लगाएर स्वदेशी वस्तुलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद दिएका छन् । अर्थ मन्त्रालयमा बिहीबार नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसानलगायत कृषक सम्बद्ध संस्थाहरुले आयातित आलु, प्याज, तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन बढाउन वातावरण बनाएको भन्दै महतलाई धन्यवाद दिएका थिए ।

आयातित कृषिजन्य वस्तुमा कर लगाउनुपर्ने किसानको माग रहेको नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए । “आयातित वस्तुसँग स्वदेशी कृषकले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले आयातित कृषिजन्य वस्तुमा कर लगाउने हाम्रो माग थियो,” अध्यक्ष बस्नेतले भने । तर, स्वदेशी उत्पादनमा पनि कर लगाएको हो भने त्यो कृषकलाई गलत हुने उनले बताए । सरकारले स्वदेशी उत्पादन होइन, आयातितमा मात्र हो भने स्वागतयोग्य नै रहेको उनको भनाइ छ ।

कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले आलु, प्याजमा भ्याट लगाएको विषयमा नचाहिँदो विरोध गर्नु आवश्यक नरहेको बताए । उनका अनुसार आलु र प्याजमा उच्च कर लगाएमात्र आन्तरिक उत्पादन बढ्छ । किसानले बजार र मूल्य पाउने वातावरण बने स्वाभाविकै रुपमा उत्पादन बढ्नेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आलुको आन्तरिक उत्पादन ३४ लाख ५४ हजार टन छ भने माग ३७ लाख ९४ हजार टन । स्वदेशी उत्पादनले बजारको माग आपूर्ति नहुँदा वार्षिक ३ लाख ४० हजार टन आयात हुने गरेको छ । यस्तै, प्याज स्वदेशी उत्पादन २ लाख ६२ हजार टन छ भने माग ४ लाख ३६ हजार टन ।

बजारमा आपूर्ति नहुँदा १ लाख ७४ हजार टन प्याज आयात हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार आलु मागको ८.९५ प्रतिशत आयात हुन्छ भने प्याज ३९.८४ प्रतिशत । स्वदेशी उत्पादन नहुँदा आलु आयातमा वार्षिक साढे ५ अर्ब रुपैयाँ बाहिरिने गरेको छ । यस्तै, प्याजका लागि साढे २ अर्ब रुपैयाँ बाहिरिन्छ ।

Comments

Back to top