सरकारले दियो टायलका निजी क्षेत्रलाई, आयात निरुत्साहित गर्न भन्सार र अन्त:शुल्क वृद्धि
शतप्रतिशत आयात हुने टायल तथा ग्रेनाइट क्षेत्रमा निजी क्षेत्रले लगानी बढाउँदै जाँदा सरकारले थप प्रोत्साहन गरेको छ । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी बढाउँदै लैजाँदा सरकारले स्वदेशी लगानीकर्तालाई थप प्रोत्साहन गरेको हो ।
नेपालमा व्यवसायीले वार्षिक अर्बौं रुपैयाँको टायल, मार्बल तथा ग्रेनाइट आयात गरी आपूर्ति गर्दै आएका छन् । बजारमा टायलको माग उच्च छ । तर, स्वदेशमा पर्याप्त उत्पादन हुन नसक्दा अर्बौं रुपैयाँ खर्चेर नेपालमा आयात गरी बजारमा आपूर्ति गर्दै आएका छन् ।
बजारमा उच्च माग तर उद्योग भने स्थापना हुन नसकेको अवस्थामा उद्योगीले यस क्षेत्रमा ठूलो सम्भावना देखेर लगानी बढाएका हुन् । ठूला सम्भावना रहेको यस क्षेत्रमा उद्योगीले पछिल्ला ५ वर्षमा देशभर टायल उत्पादनका लागि २५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार पछिल्लो ५ वर्षको अवधिमा टायल उत्पादन गर्ने गरी १२ वटा उद्योग दर्ता भएका छन् ।
त्यस्तै, चालू आर्थिक वर्षको ९ महिनामा ठूला घरानाका व्यवसायीले टायलमा अर्बौं रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । विभागका अनुसार ९ महिनाको अवधिमा विभागमा ६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धतासहित तीन ठूला टायल उद्योग दर्ता भएका छन् ।
मुरारका ग्रुपले नवलपरासीमा १ अर्ब ८१ करोड १७ लाख रुपैयाँ कुल पुँजीसहित सेराप्रो नेपाल प्रालि उद्योग दर्ता गरेको छ । त्यस्तै, अरिहन्त इन्फ्रास्ट्रक्चरले सुनसरीमा ३ अर्ब २८ करोड ७९ लाख रुपैयाँ कुल पुँजीसहित टायल उद्योग दर्ता गरेको छ ।
त्यस्तै स्वदेशी तथा विदेशी लगानीमा पशुपति टायल उद्योग स्थापना हुँदै छ । टायलमा परनिर्भर रहेको नेपाललाई स्वदेशमै गुणस्तरीय उत्पादन गर्ने उद्देश्यसहित ‘नेपोभिट’ टायल उत्पादन गर्ने कम्पनीको भनाइ छ ।
त्यस्तै, आव २०७८/७९ मा ४ अर्ब १३ करोड ९८ लाख रुपैयाँको १४ करोड २८ लाख ७७ हजार किलो र चालू आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब २६ करोड ५३ लाख रुपैयाँको ११ करोड २३ लाख ९ हजार किलो टायल, ग्रेनाइट र मार्बल आयात भएको छ ।
Comments