कपडा उद्योग पुनः सञ्चालनमा सेनाको चासो
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । तर, पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययन गरिरहेको छ ।
गत साता मात्र सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने/नसक्नेबारेमा जानकारी लिएको छ । २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएपछि हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो । बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि बन्द भयो।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आठ करोड रुपियाँभन्दा बढी विनियोजन भएकामा मर्मतका लागि केही बजेट खर्च भए पनि सञ्चालनमा आउन सकेन । मर्मत गरेको उद्योग सञ्चालन नगरेर खारेज गरियो । त्यसपछि पनि खारेजीको निर्णय उल्ट्याएर सरकारको नीति तथा कार्यक्रमसँगै बजेटमा पर्दै आए पनि उद्योग सञ्चालन होइन, अझ दुरवस्थामा पुगेको छ ।
पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने वा नचल्ने वा पुनर्संरचना गर्नेबारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरेर निर्णयमा पुग्ने गरी टोली फर्किएको छ । सेनाले थप अध्ययनपछि कुन मोडलमा कसरी सञ्चालनमा ल्याउने भनेर निर्णय गर्ने जनाइएको छ ।
गोरखापत्र
Comments