अनुपमा खुन्जेली: गुरुले छाडेपछि मेगा बैंकको ‘स्टेयरिङ’ पाएकी अनुपमाले गति बढाइन्!

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत बन्दै गर्दा अनुपमा खुन्जेलीलाई काम गरेर देखाउन सक्ने हो वा होइन भन्ने द्विविधा थियो ।

वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतहरु विगतमा जहिले पनि पुरुषहरु नै थिए । अनुपमा खुन्जेली बैंकमा पहिलो महिला सीइओ बन्दै थिइन् । बैंकमा स्थापनाकालदेखि सीइओ अनिल शाहको उत्तराधिकारी बनेर अनुपमा सीइओ बन्दा धेरैको आशंका बैंक सहज ढंगले चल्दैन कि भन्ने थियो ।

अनिल शाह बैंकिङ क्षेत्रमा धेरैका लागि रोलमोडल थिए र, ग्ल्यामर पनि ।

एउटा हाइप्रोफाइल पर्सनालिटी भएको मान्छे संस्थाबाट बाहिरिएर लो प्रोफाइलको मान्छेले संस्था हाँक्ने जिम्मेवारी पाउँदा यस्तो आशंका आउनु अस्वभाविक पनि थिएन ।

खुन्जेली अनिल शाहलाई आफ्नो बैंकिङ क्षेत्रको गुरु नै मान्छिन् । स्टाण्डर्ड चार्टर्डबाट शुरु भएको खुन्जेलीको बैंकिङ यात्रामा अनिल र अनुपमा र रविनाले सँगै चार्टर्ड छाडेर नबिल आएका थिए भने मेगामा पनि उनीहरुसँगै आएका थिए ।

मेगाबाट २ कार्यकाल पूरा गरेर अनिल नबिलमै सीइओको रुपमा फर्किए भने रविना अहिले अनुपमाको सेकेन्ड पोजिसनमा भएर मेगा बैंकमै कार्यरत छिन् ।

अनुपमाले मेगाको नेतृत्वले लिएपछि बैंकले रफ्तार आफ्नो तरिकाले समातेको छ । हालैमात्र बैंकले ख्यातिप्राप्त दि बैंकर अवार्ड पनि प्राप्त गरेको छ । बैंक वित्तीय सूचकांकमा पनि निकै बलियो भएर प्रस्तुत भएको छ ।

मेगाका समकालीन बैंकमध्ये कमर्ज एण्ड ट्रष्ट र जनता बैंकले आफ्नो अस्तित्व नै गुमाइसकेका छन् । सिभिल बैंक अरुमा बिलय हुन साँझबिहान भएर बसेको छ । सेञ्चुरीले पनि प्रगति गर्न सकेको छैन, जति मेगाले गर्यो ।

यसरी मेगा बैंकले एकाएक प्रगती गर्न थालेपछि अनुपमा बैंकिङमा लाग्ने महिलाहरुका लागि रोलमोडल बनेकी छन् ।
बैंकिङमा आफ्नो सफलता नम्बरले पुष्टी गर्ने बताउँछिन् उनी, भन्छिन्- ‘बैंकिङमा म नम्बरलाई धेरै नै माया गर्छु, बैंकिङमा मैले राम्रो गरेमो मेरो सफलता नम्बरले नै बताउने छ ।’

स्थापनाकालदेखि नै कार्यरत मेगा बैंकमा डेपुटी सीईओ भएपछि बैंकलाई नेतृत्व दिन सक्छु भन्ने अनुपमालाई लागिसकेको थियो । अनिल सीइओ भएकै अवस्थामा पनि सञ्चालक समितिका सदस्यहरुले सीइओ हुन तयार भएर बस्न समेत भनेका थिए खुञ्जेलीलाई । त्यसबेला उनी सोच्थिन्- अवसर आयो भनेपछि हट्दिन, प्रमाणित गरेर देखाइदिन्छु ।

मेगा बैंकको कागजी प्रक्रियादेखि अहिलेसम्मको यात्राको साक्षी उनी थिइन् ।

संचालक समितिले अनुपमालाई विश्वास गर्यो । र, टीमले सहयोग । जसले मेगा बैंकलाई स्थापनाको १० वर्षमै पुराना बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बनायो ।

नेपालका बैंकहरुमा सबैभन्दा बढी संस्थापक सेयरधनी भएको बैंक मेगा हो । ३ हजार संस्थापक सेयरधनी र २ लाख सर्वसाधारण सेयरधनी । बैंकमा कुनैपनि व्यवसायिक घरानाको सेयरमा बहुमत छैन । त्यो सबैलाई मिलाएर हिडाउने काम अनुपमामा काँधमा छ ।

धैर्यता राखेर बैंकिङमा काम गर्न महिलाहरुलाई खुञ्जेलीको सुझाब छ । साथै, कतिपय अवस्थामा कार्यस्थलमा महिलालाई सहयोग गर्न पुरुषहरुलाई उनको अपिल छ।

Comments

Back to top