नेपालमै उत्पादन हुने रोयल इन्फिल्डका दुई मोडल !

रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । मध्यम आकारको (२५० सीसी–७५० सीसी) मोटरसाइकलमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो ।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्रबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्याण्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ । नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ । नेपालमा मोटरसाइकल बजारको आसलाग्दो पुनर्जागरण हुने संकेत देखिएको कम्पनीको भनाइ छ ।

रोयल इन्फिल्डले पनि नेपाली बजार पर्याप्त रूपमा वृद्धि हुने ठूलो सम्भावना देखेको जनाएको छ । महामारीअघि नेपालमा हरेक वर्ष करिब १७ लाख मोटरसाइकल बिक्री हुन्थे । तीमध्ये करिब ६०/६५ प्रतिशत मोटरसाइकल १५० सीसीभन्दा मुनिका थिए । यो बजार आगामी वर्षहरूमा १०/१५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

आगामी दिनमा उत्कृष्ट र मूल्यवान् मोटरसाइकलको माग बढ्नेमा रोयल इन्फिल्ड विश्वस्त छ । प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगन्जमा एक लाख वर्ग फिटमा फैलिएको अत्याधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार भएसँगै नेपालको बढ्दो माग पूरा गर्न सहज हुने कम्पनीको भनाइ छ ।

यस युनिटमा विशेष गरी नेपाली बजारका लागि आज लन्च गरिएका नयाँ क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ ।यसअघि भारत र विश्व बजारमा लन्च गरिएको क्लासिक र स्क्र्याम ४११ अब मोटरसाइकललाई प्रेम गर्ने नेपालीहरूका लागि नेपालमा नै उत्पादित हुनेछ । द क्लासिक ३५० एक उत्कृष्ट, कालजयी, रेट्रो शैलीको मोटरसाइकल हो ।

क्लासिक ३५० र स्क्र्याम ४११ दुवै नेपालमा टेस्ट राइड, बुकिङ र खुद्रा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । क्लासिक ३५० मूल्य चार लाख ९९ हजार मा तथा स्क्र्याम ४११ मूल्य ६ लाख ६० हजार मा उपलब्ध हुनेछन् ।

Comments

Back to top