शारीरिक रुपमा अशक्त भएकी सीताको प्रेरणादायी कथा !

स्याङ्जा स्थायी घर भएकी सिता अहिले काठमाडौंको बालाजुस्थित तारकेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन् । सीता जन्मदै शारीरिक रुपमा अशक्त । सामान्य हिडडुल गर्नका लागि अरुको सहारा चाहिने ।

अपाङ्ग सेवा केन्द्रमा सीताले ७ दिने हस्तकलाको तालिम लिइन् । त्यसपश्चात ऊनबाट विभिन्न सजावटका सामान बनाउन सिकिन् । उनी अहिले ऊनका गुलाफका फूल, ब्याग, किरिङ, लभ आकारका गुडिया, हात्ती लगायतका सामान बुन्छिन् । सीता भन्छिन्, ‘ शुरु शुरुमा काम सिक्न गाह्रो भए पनि अहिले सजिलो लाग्छ, काम गर्ने जाँगर मरेको छैन ।’

उनी दैनिक २५ वटासम्म प्रेम झल्काउने सजावटका सामान बुन्छिन् । ती सामानलाई आरएनएसी अगाडिको फुटपाथमा लगेर बेच्छिन् । सीता एक्लै ह्वीलचियरमा आवतजावत गर्न नसक्ने हुँदा बालाजुदेखि सेवा केन्द्रकै एक व्यक्तिले बिहान आरएनएसीसम्म ल्याइदिन्छन् र बेलुका लिन आउँछन् ।

सीता भन्छिन्, ‘अरुलाई फुटपाथमा व्यापार गर्न दिदैँन, महानगरले सामान खोस्छ, तर मलाई छुट दिएको छ ।’

हप्तामा तीन दिन सडकमै बसेर व्यापार गर्ने गरेको बताउँदै सीताले भनिन्, ‘बाँकी दिन घरमै बसेर गुलाफका फुल, ब्याग, गुडिया बुन्छु ।’
महिनामा १२ दिन सडकमै बसेर व्यापार गर्ने उनले प्रणय दिवसका दिन ७ हजार बढीको व्यापार गरिन् । अन्य दिनमा दैनिक ३–४ हजार कमाउथिन् ।

आफुले कमाएको रकम अपाङ्ग सेवा केन्द्रका अन्य व्यक्तिहरुको हेरचाहको लागि खर्च गर्छिन् भने बाँकी रकम आफै राख्छिन् । ‘विगतमा पैँसा कमाउन के गर्ने होला जस्तो लाग्थ्यो तर काम गरेपछि कमाउन सकिने रहेछ’ साहसका साथ सीताले भनिन् ।

शारीरिक रुपमा अशक्त, त्यसमाथि भुँइमा बसेर व्यापार गर्न कहाँ सहज हुन्छ र ? तर पनि जसोतसो संघर्ष गरिरहेकी छिन् । उनी भन्छिन्, ‘चाहना हुनुपर्छ, काम गर्न सकिन्छ ।’

शारीरिक रुपमा अशक्त व्यक्तिहरु धेरै मेहनती हुने उनको भनाइ छ । उनले सेवा केन्द्रका अन्य अपाङ्गता व्यक्तिहरुलाई पनि काम गर्नका लागि सहयोग गरिरहेको र आफूले देखेका अशक्तहरु सबैलाई काम गरेर खानुपर्छ भन्ने गरेको बताउछिन् । उनी शारीरिक रुपमा अशक्त भएपनि मनोबल उच्च राख्छिन् ।

Comments

Back to top