एयरबसका विमानको ढोका अब टाटाले बनाउने!

विश्वको सबैभन्दा ठूलो विमान निर्माता एयरबसका विमानको ढोका अब भारतमा बन्ने भएको छ । यो पहिलोपटक हुन लागेको हो । टाटा एडभान्स सिस्टम्स लिमिटेड (टिएसएल) ले हैदराबादको आफ्नो प्लान्टमा ए३२० निओ विमानका लागि कार्गो र बल्क कार्गो ढोकाहरू निर्माण गर्नेछ । एयरबस एयरक्राफ्टले बुधवार टाटा एडभान्स सिस्टम्स लिमिटेडसँग ए३२० निओ विमानका लागि कार्गो र बल्क कार्गो ढोका निर्माण गर्न सम्झौता गरेको छ ।

एयरबसलाई एयरलाइन्स बजारमा अगाडि लैजानका लागि यो महत्वपूर्ण कदम हुने कम्पनीले जनाएको छ । टाटा एडभान्स सिस्टम्स लिमिटेडले हैदराबादमा अत्याधुनिक रोबोटिक्स र स्वचालन प्रविधि प्रयोग गरी यी ढोकाहरू निर्माण गर्नेछ । प्रत्येक जहाज सेटमा दुई कार्गो ढोका र एक बल्क कार्गो ढोका समावेश हुनेछ । ओलिभर कोक्विल, एसभीपी एयरोस्ट्रक्चर प्रोक्योरमेन्ट, एयरबस र मसूद हुसैनी, वीपी एण्ड एचओ एयरोस्ट्रक्चर एण्ड एरो–इन्जिन्स, टाटा एडभान्स सिस्टम्स लिमिटेडले हैदराबादमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

फ्रेन्च कम्पनी एयरबसको स्थापना सन् १९७० मा भएको थियो । एयरबसले युरोपेली संघका चार देशहरूः जर्मनी, फ्रान्स, युनाइटेड किंगडम र स्पेनका सोह्र स्थानहरूमा लगभग ५७,००० कर्मचारीहरूलाई रोजगार दिएको छ । मिडिया रिपोर्टका अनुसार एयरबसका प्रमुख व्यक्तिहरूमा सीईओ थोमस एन्डर्स, सीएफओ हाराल्ड विल्हेम, प्रमुख वाणिज्य अधिकारी जोन लेही र सीओओ फेब्रिस ब्रेगियर समावेश छन् ।

एयरबसले लगातार चौथो वर्ष बोइङभन्दा अगाडि विश्वको सबैभन्दा ठूलो विमान निर्माताको रूपमा आफ्नो ताज कायम राखेको छ । सन् २०२२ मा १,०७८ जेट अर्डरपछि एयरबस नयाँ विमान अर्डर र डेलिभरीका आधारमा शीर्ष स्थानमा छ । एयरबसले गत वर्ष ६६१ विमानहरू उपलब्ध गराएको थियो, जुन २०२१ को तुलनामा ८ प्रतिशतले बढेको छ । जबकि बोइङले ४८० विमान दिएको छ।

Comments

Back to top