गलैँचा, कार्पेट र छुर्पीले अमेरिकासँगको व्यापारमा नेपाललाई नाफा
नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्किएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल नाफामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो ।
आर्थिक वर्ष २०७८-७९ मा नेपाललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो । सो वर्ष नेपालबाट जम्मा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँको निर्यात भएको थियो भने अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरे पनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।
चालु वर्षको साउन महिनामा भने अमेरिकासँगको व्यापारमा नेपाल घाटामा थियो । उक्त महिना नेपालले ७९ करोड रुपैयाँको घाटा ब्यहोरेको थियो । यस्तै, भदौ महिनामा नेपालले अमेरिकासँगको व्यापार घाटा सुधारेर २८ करोड रुपैयाँमा ल्याइपुर्याएको थियो ।
असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।
यस्तै, कात्तिकमा ९२ करोड नाफा आर्जन भएको थियो । तर, मंसिर महिनासम्ममा भने नेपालको व्यापार नाफा खुम्चिएर ११ करोड ५४ लाखमा सीमित भएको छ । यस्तै, पुसमा १३ करोड र माघ महिनामा ८ करोड रुपैयाँ नाफा भएको छ ।
Comments