नेपालमा पहिलो पटक नेपाल टेलिकमको 5G नेटवर्क ट्रायल सुरु

नेपालमा पहिलो पटक नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल नेटवर्क फाइभजीको परीक्षण सुरु गरेको छ।

माघ २२ मा आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर टेलिकमले फाइभजी नेटवर्क लाइभमा ल्याएको हो।

कम्पनीको फाइभजी परियोजनालाई दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावेले सहयोग गरेको छ। ह्वावेले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

चिनियाँ कम्पनी ह्वावेले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गरिसकेको जनाएको छ। यसअघि ह्वावेले नेपाललाई फोरजी, इन्टेलिजेन्ट नेटवर्क (आईएन), आईभीआर, आईपी टेलिफोनीमा आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस), टुजी जीएसएम र सीडीएमए नेटवर्क आदि लन्च गर्न मद्दत गरेको थियो।

नेपालमा २२ वर्षदेखि ह्वावेको उपस्थिति रहेको छ। यसले नेपाली उपभोक्ताहरूका लागि थप नयाँ सेवाहरू प्रदान गर्दै आएको छ । नेपाल टेलिकमको फोरजी सेवाको व्यापक विस्तारमा यसको फोरजी नेटवर्क पोर्टफोलियोले प्रमुख भूमिका खेलेको ह्वावेले जनाएको छ।

हाल नेपाल टेलिकमको फाइभजी ह्वावे, साओमी र भिभोजस्ता ब्रान्डहरूको ह्यान्डसेटहरूमा उपलब्ध हुनेछ। नेपाल टेलिकमले पहिले उपयुक्त ह्यान्डसेटको अभावको कारण जनवरी १ को परीक्षण सुरु रद्द गरेको थियो ।

योसँगै फाइभजीले उच्च-गति नेटवर्कको लागि सम्भावनाहरू कस्तो हुनेछ भनेर खुलासा गर्न र पछि यसको व्यवसायिक रोलआउटको लागि खाका तयार पार्न मद्दत गर्ने ह्वावेले जनाएको छ।

टेलिकमले काठमाडौंमा यो ट्रायल नेटवर्क लन्चको लागि ह्वावेको रेडियो उपकरणको उपयोग गरेको छ र देशभरमा यही जारी रहने ह्वावेले जनाएको छ।

Comments

Back to top