मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत सार्वजनिक गरेको हो । 

राष्ट्र बैंकले जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने व्यवस्था गरेको छ ।

यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिने बताइएको छ ।

निवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ ।  यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जानकारी दिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाकोअनुगमनलाई थप प्रभावकारी बनाइने छ । त्यस्तै, ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बैंकले जानकारी दिएको छ ।  

 

 

 

 

Comments

Back to top