खेतान समूहले गोर्खा ब्रुअरीको सेयर बेच्दै, एक खर्ब रुपैयाँमा बेच्न प्रस्ताव
खेतान समूहले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो ३३ प्रतिशत स्वामित्व बिक्रीका लागि प्रस्ताव गरेको छ।
डेनमार्कको कम्पनी कार्ल्सबर्गले खेतान समूहसँग रहेको सेयर खरिद गर्ने गरी प्रस्ताव अघि बढाएको छ। यो डिल नेपाली झण्डै एक खर्ब रुपैयाँ हाराहारीमा हुनेछ।
यो प्रस्ताव अनुसार खरिदबिक्री भएमा कार्ल्सबर्ग डेनमार्कसँग गोर्खा ब्रुअरीमा ९० प्रतिशत र कार्ल्सबर्ग इण्डियामा शतप्रतिशत सेयर हुनेछ।
नेपाल र भारतमा रहेका दुई कम्पनीको ३३ प्रतिशत स्वामित्व सीएसएपीएल (सिंगापुर) होल्डिङ प्रालिसँग छ। त्यसको अन्तिम सेयरधनीमा नेपालको व्यवसायिक घराना खेतान समूहका सीपी खेतानसँग छ।
खेतान लामो समयदेखि सिंगापुरमा बस्दै आएका छन्। उनी राजेन्द्र कुमार खेतानका भाइ हुन्।
खेतान समूह र कार्ल्सबर्गबीच कम्पनी सञ्चालनका विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।
सीएसएपीएलएच र कार्ल्सबर्ग समूहबीच सीएसएपीएललाई लिएर लामो समय विवाद भएको थियो। सेयरधनी सम्झौता र गभर्नेन्सका विषयमा विवाद भएको थियो। विवादलाई सीएसएपीएलएचले सिंगापुरको आरबिट्रेसनमा लगेको थियो।
सेयर खरिदबिक्री सन् २०२३ भित्रै सक्ने योजनामा कार्ल्सबर्ग समूह छ। कार्ल्सबर्गले भने सीएसएपीएलएचले तोकेको मूल्यांकनपछि आवश्यक अध्ययन तथा तयारी सुरु गरेको जनाएको छ।
Comments