चौधरी ग्रुपले भद्रपुर गोल्डकपको मुख्य प्रायोजन गर्ने, एक करोड ५० लाख खर्च लाग्ने अनुमान!

झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ।

चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच मंगलबार भद्रपुरमा एक समारोहबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट मुस्ताङका कन्ट्री सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे।

सो प्रतियोगिता आगामी फागुन ७ देखि १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रङ्गशालामा सञ्चालन हुनेछ । रङ्गशालामा करिब २० हजार दर्शक अट्ने गरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु १३ लाख र उपविजेता टिमलाई नगद रु सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार दिइने भएको छ । प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ‘ए’ डिभिजन क्लब र भारत, भुटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए ।

Comments

Back to top