एलन मस्क बने इतिहासमै २६० खर्ब बढि रकम गुमाउने पहिलो व्यक्ति!

सन् २०२१ मा एलन मस्क ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका थिए । त्यसको एक वर्ष पनि नबित्दै इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति पनि बनेका छन् । उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई सय ६० खर्ब रुपैयाँ) बढीले घटेको छ ।

५१ वर्षीय एलन मस्कको सम्पत्ति अहिले एक सय ४६ अर्ब डलरमा सीमित भएको छ । गत मंगलबार उनको सम्पत्ति घटेर १३७ अर्ब डलरमा पुगेको थियो । एलन मस्कको सबैभन्दा धेरै शेयर टेस्लामा रहेको छ । त्यसैले कम्पनीको शेयरमा अलिकति पनि थपघट भए मस्कको सम्पत्ति अर्बौं डलरले घट्ने बढ्ने भइरहन्छ।  डिसेम्बरको सुरुवातमा लुइ भितनका संस्थापक बर्नार्ड अर्नोल्टले उनलाई पछि पारेका हुन् ।

त्यस्तै मस्कले ४४ अर्ब डलरमा ट्वीटरको पूर्ण स्वामित्व लिएपछि टेस्लाले ठूलो नोक्सानी बेहोर्दै आएको छ । ट्वीटर कम्पनीबाट कर्मचारीलाई निकाल्ने, अनावश्यक नीति बनाएर प्रतिबन्ध लागेका अकाउन्ट खोल्ने र पत्रकारका अकाउन्टमा प्रतिबन्ध लगाउँदा ट्वीटरले आफ्ना विज्ञापनदाता गुमाएको छ।

 यसको प्रभाव मस्क र टेस्ला दुवैमा परेको छ । ट्वीटर खरिद गर्न मस्कले टेस्लाको धेरै शेयर बिक्री गरिसकेका छन्। साथै ट्वीटर खरिद गर्न उनले आफ्नो अर्को कम्पनी स्पेसएक्सको शेयर पनि बिक्री गरेका छन् । 

अहिले स्पेसएक्समा उनको कूल ४२.२ प्रतिशत शेयर मात्र बाँकी छ । त्यस्तै उनीसँग टेस्लाको १४.१ प्रतिशत शेयर बाँकी छ । ट्वीटरको शेयरले मस्कको सम्पत्तिमा योगदान नपुर्‍याउँदा उनको सम्पत्ति दिनानुदिन घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ।

Comments

Back to top