एनसीसी बैंकको शेयर कारोबार पुस १७ देखि १५ दिन रोक्का हुँदै!
एनसीसी बैंकको शेयर कारोबार पुस १७ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ।
एनसीसी बैंक, कुमारी बैंकसँग मर्जरमा गई पुस १७ बाट एकिकृत कारोबार गर्न लागेको बैंकको शेयर कारोबार १५ दिनको लागि बन्द हुने भएको हो।
धितोपत्रको अभौतिकिकरण, सूचिकरण प्रयोजन शेयर मिलान तथा धितोपत्र पुनः दर्ताका लागि १५ दिन कारोबार बन्द हुन लागेको हो । यस अवधिमा कुमारी बैंकको भने कारोबार रोक्का हुने छैन।
२०७९ मा भएको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका व्यवस्था बमोजिम बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो। उक्त निर्देशिकाको दफा ९ मा एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्ने/ गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्नु पर्ने ब्यबस्था छ।
डाटा माईग्रेसन प्रयोजनको लागि एकीकृत कारोबार शुरु गर्न पुस १५ र पुस १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने बैंकले जनाएको छ।
यी दुई बैंक १:१ को स्वापमा मर्ज भएका हुन् । कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने-गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी रु.२६ अर्व भन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्व १ अर्व भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।
Comments