शारीरिक व्यायाम गर्दा हामीलाई हुने फाइदा!
स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन्। तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन । धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ। यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन्। अध्ययनहरूले जुनसुकै उमेरमा पनि व्यायाम सुरु गर्न सकिन्छ भन्ने पर्याप्त आधार देखाएका छन्, यहाँसम्म कि तपाईं बिरामी वा गर्भवती भए पनि व्यायाम गर्नु आवश्यक छ। ‘व्यायामले जति काम गर्छ, त्यति कुनै पनि पिल (औषधि)ले गर्दैन,’ लुजियानास्थित पेनिङ्टन बायोमेडिकल रिसर्च सेन्टरको ह्युमन जिनोमिक्सका निर्देशक क्लाउडे बुचार्ड भन्छन्, ‘यदि कुनै त्यस्तो पिल नै बने पनि त्यो असाध्यै महँगो हुन्छ।’
१. व्यायाम मस्तिष्कका लागि फाइदाजनक
व्यायामले डिप्रेसन घटाउँछ, स्मरण शक्ति सुधार्छ र सिकाइ छिटो पार्छ। अनुसन्धानहरूले अल्जाइमर्सजस्ता रोगबाट जोगिन वा छिटो लाग्नबाट जोगिन पनि व्यायाम सर्वोत्तम उपाय भएको निष्कर्ष निकालेका छन्।
२. हामीलाई बढी खुसी बनाउँछ
असंख्य अध्ययनले हिँडाइदेखि साइक्लिङसम्मका विभिन्न व्यायामले हामीलाई स्वस्थ भएको अनुभूतिसँगै डिप्रेसनबाट मुक्ति दिलाउने देखाएका छन्। व्यायामले मस्तिष्कमा ‘सेरोटोनिन्’, ‘नोरपिनेफ्रिन’, ‘इन्डोर्फिन’ र ‘डोपामाइन’जस्ता रासायनिक पदार्थको उप्पादन सक्रिय पार्छ। डोपामाइनले दुखाइपीडा कम गराउँछ, मनोदशा हलुका पार्छ, तनावमुक्त पार्छ र आनन्द अनुभूति गराउँछ। ‘वर्षौंसम्म हामीले व्यायामका शारीरिक फाइदामा अनुसन्धान केन्द्रित गर्यौं तर यसबाट व्यक्तिलाई नियमित हुने मनोवैज्ञानिक र भावनात्मक फाइदाको बेबास्ता गर्यौं,’ भन्छन् द अमेरिकन काउन्सिल अन एक्सरसाइजका चिफ साइन्स अफिसर सेड्रिक ब्रायन्ट
३. बुढ्यौली ढिलो पार्छ
नियमित व्यायाम गर्नाले करिब पाँच वर्ष आयु बढ्ने विभिन्न अध्ययनले देखाएका छन्। भर्खरै गरिएको एउटा सानो अध्ययनले मध्यम खालको व्यायामले पनि कोषको बुढ्यौली ढिलो पार्ने देखाएको छ। जब मानिस बुढो हुन थाल्छ, उसको शरीरका कोषहरू बारम्बार विभाजन हुँदा वंशाणुमा हुने क्रोमोजोमको ‘टेलुमियर’ छोटो हुँदै जान्छ।
४. छाला राम्रो पार्छ
एरोबिकजस्ता व्यायामले छालामा रगत प्रवाह बढाउँछ। छालाको कोषले अक्सिजन र अन्य पोषण पाउँछन्, जसले छाला स्वस्थ्य हुनुका साथै घाउ पनि छिटो निको हुन्छ। ‘घाउ÷चोट लागेको मानिसले सकेसम्म छिटो हिँडडुल गर्नुपर्छ, यसले मांसपेशी कमजोर हुनबाट जोगाउने मात्र नभएर छालामा स्वस्थ रगत प्रवाह बढाउँछ,’ च्यापेल हिलस्थित युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका एक्सरसाइज फिजियोलजिस्ट एन्थनी ह्याक्नी भन्छन्, ‘लामो समय अभ्यास गर्नुभयो भने तपाईंको छालामा रगतका नशा ‘मसिना क्यापिलरी’ थपिनेछन्।’
५. केही मिनेटमै अचम्मको परिवर्तन
हालै भएका केही अध्ययनले व्यायाम गर्दा शरीरमा परिवर्तन हुन र व्यायामको फाइदा अनुभव गर्न धेरै बेर नलाग्ने देखाएका छन्। ‘केवल तपाईं कति बेर व्यायाम गर्नु हुन्छ भन्ने कुरा महत्वपूर्ण छ,’ ओन्टारियोस्थित म्याकमास्टर युनिभर्सिटीका एक्सरसाइज फिजियोलोजिस्ट मार्टिन गिबाला भन्छन्। उनी ५० मिनेटको विशेष व्यायामको तुलनामा १० मिनेटको छोटो व्यायाम कति प्रभावकारी हुन्छ परीक्षण गर्न चाहन्थे।
६. गम्भीर रोगबाट तंग्रिन सघाउँछ
गिबालाले अध्ययन गरेजस्तो कडा व्यायाम जस्तो कि ‘इन्टर्भल वर्कआउट्स’ टाइप–२ मधुमेहदेखि ‘हार्टफेल’जस्ता दीर्घरोगीका लागि उपयुक्त हुने पाइएको छ। यो नयाँ धारणा हो, किनभने दशकौंदेखि नै केही दीर्घरोगीले व्यायाम गर्नु हुँदैन भन्ने धारणा व्याप्त थियो। अहिले वैज्ञानिकहरूले जानकारी पाएका छन् कि, अधिकांश व्यक्तिले व्यायाम गर्न सक्छन् र गर्नुपर्छ भनेर। तीन सयभन्दा बढी क्लिनिकल परीक्षणको हालै गरिएको विश्लेषणबाट के पत्ता लागेको छ भने, मस्तिष्कघातबाट निको भइरहेका व्यक्तिलाई पूर्वस्थितिमा फर्काउन व्यायाम अझ प्रभावकारी हुन्छ।
७. बोसो घट्छ
हाम्रो शरीरले कार्बोहाइड्रेट र बोसो (फ्याट) दुवैलाई ऊर्जा स्रोतका रुपमा प्रयोग गर्छ। एरोबिकजस्ता नियमित व्यायाम र शारीरिक तालिम गर्दा शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा बढी उपयोग गर्छ वा भनौँ बोसोलाई ऊर्जामा रुपान्तरण गर्छ।
Comments