पारिजात: अमुल्य गुणहरू भएकी मुर्धन्य व्यक्तित्व !

दार्जिलिङको लिंगीय चिया कमानमा वि.‍‍सं १९९४ मा जन्मिएकी विष्णुकुमारी वाइवा ‘पारिजात’ नै त्यस्ती स्रष्टा हुन्, जो नेपाली भाषा साहित्य संसारकी पर्यायवाची बन्न सफल भइन्।

प्रारम्भिक पढाई दार्जिलिङमै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौं भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् भने आइ.ए. र बि.ए. पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा उनी धेरै नै चुरोट पिउँथिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । पढ्दै गर्दा उनले गोविन्दबहादुर मल्ल गोठालेको ‘युगको शिकार’ नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्। अंग्रेजी विषयमा एम.ए. गर्ने इच्छाले त्रिभूवन विश्वविद्यालय कलेजमा उनी भर्ना भइन् । तर, शारीरिक अशक्तता र लेखन कार्यमा विशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो।

पारिजातले समाजसेवामा पनि धेरैजसो समय व्यतित गरेकी थिइन् । उनले ‘बचेराबास’ नाम गरेको सामाजिक संस्था स्थापना गरि कारागारमा रहेका आमाबाबुका बच्चाहरूको सेवा गरेकी थिइन् । निडर, स्वाभिमानी, निष्ठावान र न्यायप्रेमी प्रकृतिकी पारिजात उत्तिकै दयालु पनि थिइन् । क्षयरोग, बाथ, दम, अल्सरजस्ता भयानक रोगहरूबाट आक्रान्त हुँदाहुँदै पनि निमुखा, असहाय र अबलाहरूका निमित्त सदैव अग्रसर रहन उनलाई कुनै शारीरिक दुर्बलताले रोक्न सकेन । उच्च मनोबल, क्रान्तिकारी प्रवृत्ति र मानवतावादी चिन्तनले उनको सामाजिक व्यक्तित्वलाई पनि अग्लो स्थानमा राखेको छ । राजनीतिक जागरण, सचेतता र निर्भिकता फस्टाउँदै जाँदा उनी वामपन्थी दलसम्बद्ध ‘अखिल नेपाल महिला संघ’को अध्यक्ष समेत बन्न पुगिन् । औपचारिक हिसाबले पद्मकन्या क्याम्पसबाट बिएसम्मको अध्ययन गरेपछि उनले विश्व साहित्यको स्वअध्ययन गरेको पाइन्छ।

स्कुल छाडेपछि उनी बाथ रोगको शिकार बनिन् । त्यसपछि उनी खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गर्न थालिन् । त्यही पीडामा उनले ‘शिरीषको फूल’ नामक उपन्यास पनि लेखिन् । वास्तवमा त्यस किताबलाई उनले ‘ढिला विष’ लगायत एघार वटा शीर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नामे ‘शिरीषको फूल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

पारिजातका जे–जति साहित्यिक सिर्जना भएतापनि उनीलाई शिरीषको फूलले नै अमर बनायो । उनका अन्य कृतिहरू आ–आफ्नै ठाउँमा स्थापित भएता पनि पारिजातलाई शिरीषको फूलले मात्रै चिनायो । यस उपन्यासको अनुवाद ‘द ब्लु मिमोसा’ अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ। पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम, प्रकृति र जीवन र जगत पनि लेखिन् । उनले आफ्नो जीवनमा २३ पुस्तक लेखेकी छिन् ।

यसरी, निडर व्यक्तित्व, मानवतावादी चिन्तन, विशालकाय बौद्धिकताजस्ता अमुल्य गुणहरू भएकी मुर्धन्य व्यक्तित्व पारिजात सम्पूर्ण मानवजातीका लागि प्रेरणाकी स्रोत बनेकी छिन् ।

Comments

Back to top