तुलसी सेवन गर्नुका यस्ता छन् फाइदा!
नेपाली समाजमा धार्मिक दृष्टिले तुलसीलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ। तर, तुलसीका अनेकन फाइदा छन् भन्ने कुरा आम मानिसलाई कमै मात्र थाहा छ ।
तुलसी एक प्रकारको सुगन्धित वनस्पती पनि हो । यसले वायु मण्डलमा रहेका दुषित हावालाई समेत स्वच्छ बनाउन सहयोग गर्छ । यो एक किटाणुनाशक वनस्पती समेत हो ।
वैज्ञानिक रुपमा तुलसीको फाइदा अपरम्पार रहेको जानकारहरु बताउँछन् । यसमा रहेको औषधीय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिने आयुर्वेदका जानकारहरुको भनाइ छ । त्यस्तै, घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि अथ्र्याउने प्रयास गरिएको छ।
अनुसन्धानमा संलग्नहरुका अनुसार खासमा तुलसी ५ प्रकारका पाइन्छन् । तर पनि प्रचलित भने सेतो र कालो प्रजातिका तुलसी मात्रै रहेका छन् । यसको सेवनबाट खानपान तथा प्रदुषणका कारणले उत्पन्न हुने विकारलाई हटाउन सहयोग गर्दछ । साथै यसले पेट सफा गर्दछ भने रक्तसञ्चार प्रणालीलाई पनि बलियो बनाउन सहयोग पुर्याउँछ । तुलसीमा एन्टिअक्सिडेन्ड नामक तत्वले मानव शरीरलाई फाइदा दिन्छ ।
त्यसैगरी, तुलसी सेवन गर्दा पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्ने आयुर्वेदमा उल्लेख गरिएको छ । यस्तै, कलेजोको क्षमतामा समेत वृद्धि गर्ने चिकित्सकहरुको भनाइ छ ।
तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुने भएकाले घाउ तथा चोटपटक नियन्त्रण गर्न समेत यसको उपयोग गरिन्छ । पुरुषमा हुने यौन दुर्बलता हटाउन समेत तुलसी लाभकारी हुने अध्ययनबाट प्रष्ट भएको छ ।
Comments