धितोपत्र बोर्डले दियो ५ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति
नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
सुपरमाई हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । यता, सुपर मादी हाइड्रोपावरलाई ३१ लाख ५० हजार कित्ता र माया खोला हाइड्रोपावरलाई ३४ लाख कित्ता आईपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागेका हुन् । सुपर मादीको आईपीओको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल र माया खोलाको प्रभु क्यापिटलले गर्नेछ ।
यस्तै शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
Comments